Tuesday, 29 May 2018

मुक्तक

"मुक्तक"

न मर्न  सक्छु  न केही गर्न सक्छु
न झर्न सक्छु न खोली तर्न सक्छु
यहाँ मनमा चाह अनेक  हुँदा पनि
न उनको अस्तित्वलाई हर्न सक्छु

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
           चितवन

मुक्तक

मुक्तक

मलाई  नै  चिथोर्छन मेरै समस्याहरूले
बारम्बार  पिरोल्छन  मेरै समस्याहरूले
म ती तीता पलहरू भूल्ने कोशिशमा छु
तर तीता वह पोख्छन मेरै समस्याहरूले

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
          चितवन

Wednesday, 2 May 2018

स्वतंत्र गजल

"गजल"

अन्धकार चिर्नलाई जूनको कमी थियो
म  खुशी   हुनलाई  उनको कमी थियो
!!
मुटुभरी प्यार सङ्गालेर  फर्कियो परदेशी
पियारीलाई प्यार हैन सुनको कमी थियो
!!
म प्रेम वियोगमा अचेत भै  लढेको थिएँ
यहाँ डाक्टरले भनेछ खूनको कमी थियो
!!
कसैले हाल खबर सोधे भने मेरो बारेमा
भन्नु है उस्लाई आज नुनको कमी थियो
!!
कात्रो र बाँस मेरो नाममा राखेछ  सत्रुले
मात्र एकोहोरो शङ्ख धुनको कमी थियो

मुक्तक

"मुक्तक"

मनभरी गुम्सिएका रहर पोखिएको छ
मेरो भाग्य मबाट टाढा उछिट्टिएको छ
हिजो अशुभ स्वप्न आयो मेरो निद्रामा
समय अगावै मृत्यु दिन तोकिएको छ

गजल

"गजल"

उही साधू लाग्छ अनि उही चोर लाग्छ
मनुष्य रूपी कोही हराम खोर लाग्छ
!!
दिँदा भिक्षा थोरै भन्छ श्राप दिन्छु
यहाँ सधैँ माग्नेकै बढी जोर लाग्छ
!!
यता बाग रित्याएर उता  मुना  रोपेँ
किन निष्ठुरीकै माया घनघोर लाग्छ
!!
आफ्नो माया पवित्र गंगाजल लाग्ने
अरूको माया  सदैव फोहोर लाग्छ
!!
मुहार छ यस्तो म वर्णन कसरी  गरूँ
चरित्र भने कसैको  किन कोर लाग्छ

प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
           चितवन
हाल :- चेन्नई भारत