कविता :- "बाँडेर खाऊँ"
टन्टलापुरे घाम, चैतमास काम धन्धाहरु छैन,
खास गाउँभरिका बरालिएका कठै ! ती बेरोजगार युवाहरू....
कोही गाई-बाख्रा चराउन हिँडे,
कोही तासमा रमाउन हिँडे,
कोही प्रेमिकालाई समाउन हिँडे,
सबैको आ-आफ्नै पारा छ कठै ! ती बेरोजगार युवाहरू......
कोही कता हिँडे,
कोही कता
न कुकुरको काम न फुर्सद
सबै मस्त भए,सबै व्यस्त भए
चैतमासको घाम युवाहरूको काम कठै ! ती बेरोजगार युवाहरू.....
काले, गोरे, साने, ठूले, लुरे काइँला, माइला, साइला, राइँला अनि थाइला मिली, कोदाली, थाल, बाल्टी र डोको उठाएर लम्किए गन्तव्यमा कठै! ती बेरोजगार युवाहरू......
काले र गोरे माटो ल्याउन हिँडे माइला र साइला कुलो खन्न थाले, कोही के गर्न थाले कोही के गर्न तर एकाएक सबै कार्य व्यस्त भए कठै ! ती बेरोजगार युवाहरू......
मेहनत पसिना बगाएर, आत्मबल जगाएर, पानी फाले, पोखरी सुकाए, यता पन्छाए, उता पन्छाए अहँ ! हात लागेन केही कठै! ती बेरोजगार युवाहरू.......
आशाको दीप निभ्नै लाग्यो, सबैलाई भोक जाग्नै लाग्यो, यतिकै यौटा माछो उफ्रिएर आयो बिचरा! सबैको बल्ल आश जाग्यो कठै! ती बेरोजगार युवाहरू.....
समाए त्यो माछो थियो यौटा, न हुन्छ मीठो झोल न चौटा, खाऊँ भने कान्छा बाजेको मुहार नखाऊँ त दिनभरीको शिकार कठै! ती बेरोजगार युवाहरू.....
काले भन्छ म खान्छु गोरे भन्छ म खान्छु माइलो भन्छ म लान्छु साइलो भन्छ सब्लाई हान्छु काइलो करायो कुनाबाट गर मात्र हल्ला हिजोको चल्ला कठै! ती बेरोजगार युवाहरू....
टाउको-पुच्छर तीतो माझको छ मीठो अहो! कस्तो दोधार भागमा हुन्छ अत्याचार भाई भाई नै छन् गद्दार कठै! ती बेरोजगार युवाहरू.....
जेठो र माइलो जुटेनन् अरू कोही उठेनन् सम्झौतामा जाने भए आखिर माछो कस्ले लाने भए कठै! ती बेरोजगार युवाहरू.......
अब सबैले मिलेर खाऊँ आऊ भाईहरू घरतिर जाऊँ गठबन्धन गर्दै बेस होला के नै रै'छ र मर्ने चोला कठै! ती बेरोजगार युवाहरू......
प्रकाश पाठक "योगी" भरतपुर २३ जगतपुर हाल :- चेन्नई भारत
No comments:
Post a Comment