Wednesday, 22 May 2019

मुक्तकहरू

मुक्तक – १

नभन्नुस् कसैले यो पागल त्यसै रन्किएको छ
विचार नै नगरी आफ्नै कुरामा सन्किएको छ
म यसै कराएको होइन न्याय हरायो भनेर महोदय
बर्षौ बित्दा नि चेलीको पीडा अदालतमा थन्किएको छ ।

मुक्तक – २

बारम्बार न्याय नपाएर ठक्कर खानै पर्ने हो त
भनिदिनुहोस् कसैले काशीतिर जानै पर्ने हो त
विश्वास नलागेर स-प्रमाण पेश गर्ने आदेश दिन्छौ
निर्वस्त्र चेलीको लाश बोकी अदालत जानै पर्ने हो त ?

मुक्तक – ३

जब आफ्नै कथा हुन्थ्यो तब छानबिन गराउँथ्यौ सरकार
दिनहूँ ठाडो आदेशमा भएभरकालाई कराउँथ्यौ सरकार
ति चेली को हुन् र तिम्रो ? आखिर वास्ता गर्नको लागी
निर्मलाको ठाउँ तिम्री छोरी भए आँसुले आँखा भराउँथ्यौ सरकार ?

मुक्तक – ४

शब्दको प्रहारले वैचारिक द्वन्द्व गराउन छोड्दैन
अन्यायको बिरुद्ध न्यायको झण्डा फर्फराउन छोड्दैन
सक्छौ अहिले नै गोली ठोकी दिनु बरू आनन्द मिल्ने छ
होइन भने अन्यायको बिरुद्धमा “योगी” कराउन छोड्दैन ।

मुक्तक -५

अनेकौं रहर छन् हियोमा लुकेका
जस्तै छन् पुतली दियोमा लुकेका
सहयात्री बन्ने कसरी उदाहरण हेरौं
प्रगाढ प्रेम छ धागो सियोमा लुकेका ।

प्रकाश पाठक “योगी”
भरतपुर -२३ जगतपुर
चितवन नेपाल
हाल : दोहा कतार

No comments:

Post a Comment