Thursday, 12 October 2017
मझौला झ्याउरे ३+२, ३+२, ३+३=१६ कविता :- परदेशीको ब्यथा बगाई आँसु बाँच्नु छ सधै कसैको यादमा न निन्द्रा लाग्छ न भोक लाग्छ अधेरी रातमा । झझल्को औधी आएको हुँदा तस्बिर हेर्दै छु सम्झेर घर, पियारी, छोरो म चिठ्ठी कोर्दै छु ।। १ ।। आयो है दशैं सबैको घर कसरी रमायौ साहू छ जाद्रो माग्दछ पैसा कसरी थमायौ । बर्षौ भो आ'को मुग्लान केही गर्न नै सकिन पीडाले थिच्दा मुटुमा झनै मर्न नै सकिन ।। २ ।। छोराले आमा,खै बाबा भन्दा मन त्यो रुँदो हो दशैंको बेला म घर भए खुशी नै हुँदो हो । बाटो त्यो हेरी बसेकी हौली हे मेरी पियारी हिम्मत गरी बस्नु है तिमी घर त्यो सिङारी ।। ३ ।। न मरे बाँचे कालले साँचे आउला फर्केर मलाई सम्झि हे मेरी आमा नरुनु धर्केर दैवको खेल मरेछु भने पराई माटोमा हेरेरै दिन बित्ला है आमा पर त्यो बाटोमा ।। ४ ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment