कविता :- "मेरी उनी"
लोक छन्द :- मझौला झ्याउरे
३+२, ३+२, ३+३ = १६
त्यो रातो ओठ,स्याऊ झै गाला, भुल्न म सकिन
समीप गएँ, धक्धक भयो, बोल्न म सकिन
कसरी खोलुँ , मनको कुरा , मनैमा अल्झियो
न देख्दा उनी, छट्पटि हुने, आँगो नै सल्कियो
! !
चौबन्दी चोली, टमक्क भयो, सुहायो चिटिक्कै
परेली केश, गाजलु आँखा, बनायो भुतुक्कै
कोकिल कुण्ठ, मधुर बोली , मनमा बसेछ
त्यो रूप देखी, यो सोझो केटो माछी झैँ फसेछ
! !
कानमा झुम्का, नाकमा नत्थी, लगाईँ झरेकी
कसरी भनौ, नजिक गई, साह्रै मन् परेकी
जुनार जस्तै , मिलेका टम्म, ती दन्त लहर
मनमा मेरो , उर्लेर आयो , अनेकौं रहर
! !
म भुल्ने छैन, कोमल हात्ले , केश त्यो चलाको
रूपको जादू , चलाई आज, मन यो गलाको
नजिक आऊ, हे मेरी प्यारी , राखौला काखैमा
नबोली बस, हेरेर तिमी , चुम्दछु आँखैमा
! !
पुष्प झै लाग्छ, वदन तिम्रो , कोमल अंग छ
बनायो द्यौता, प्रतिमा तिम्रो, आफै ऊ दंग छ
कहिल्यै टाढा ,नहुनु विन्ति , चित्त त्यो दुखाई
फुलेको पुष्प, नझार्नु बिन्ति , बोट नै सुकाई
! !
नाम :- प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन
हाल :- चेन्नेई दक्षिण भारत
Email :- prakash87nepal@gmail.com
No comments:
Post a Comment