कविता :- "परदेशीको पीडा"
भत्भती पोल्छ छातीमा पीडा खटाउँ कसरी
देशको माया कति छ कति बताउँ कसरी
सँगाली राख्छु आँखामा आँसु रूँदिन भनेर
कठोर बन्छु द्यौताको पाउ छुँदिन भनेर
! !
सम्झना आयो त्यो डाँडा पाखा घरको मलाई
मनको व्यथा मनैमा रह्यो सुनाउँ कल्लाई
ती बुढी आमा के गर्दै होलिन् मलाई सम्झेर
साँझको बेला बालेर दियो रूँदीहुन् धर्केर
! !
आउला साहुँ ले भन्दै पैसा पर्खन भन्नु है
बाँझो छ खेत बाझै छ बारी यो साल खन्नु है
उमार्नु कोदो, फापर,गहुँ खेत र बारीमा
तिरौंला ऋण हे मेरी आमा अहिले पालीमा
! !
मिलाई छुट्टी दशैँमा घर आउँला फर्केर
दशैँको टिका लगाई दिनु अछेता छर्केर
सरर भन्दै डाँडाको पिङ्ग मजाले खेलौला
दु:ख र सुख बूढा र बूढी मिलेर झेलौला
! !
छोरा र छोरी बोकर हामी ओराली झरौला
ठूलो छ खोला पख है बूढी मिलेर तरौला
चौतारी आयो त्यो सानो झोला बिसाउँ तिमीले
पसिना बग्यो तातेको ज्यान चिस्याउँ तिमीले
! !
आमाको माया हियामा साँची रूँदैछ मुग्लान
भनेको बेला सकिन घर फर्केर म जान
हे मेरी प्यारी छोरा र छोरी सम्हाली राख्नु है
म फोन गर्छु रातीको बेला नसुती जाग्नु है
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
हाल :- चेन्नेई भारत
No comments:
Post a Comment