"कविता" :- चरीको दुर्घटना
लोक छन्द मझौला झ्याउरे
बगायो आँसु त्यो बुढो बाबा छोरो नै सम्झेर
कहाली लाग्दो घटना घट्यो रूदै छ धर्केर
बाँच्दिनन् आमा देखेर लास छोराको आँगन
त्यो छोरो सम्झि बोलाईन् आमा हे बाबु उठन
!!
पर्खिनु आमा आउँला फर्कि भनेर बोल्याथ्यो
छोराको चिनो केवल यौटा डढेको झोला थ्यो
हे दैव आज मलाई काल आएन किन हो
म भन्दा छोरो जानु नै पर्ने यो कस्तो दिन हो
!!
यो कालो दिन आउन रै'छ आकाश गर्जियो
खसेछ ठूलो जहाज भन्दा मुटु यो चर्कियो
आउछिन् छोरी भन्दा त झनै समस्या थपियो
नभेटी छोरी स्वर्गमा गै'न आँसु नै दर्कियो
!!
हे बाबा आमा यो जुनी यस्तै भएर गएँ है
दु:खमा साथी नबनि म त दैवको भएँ है
पाएछु भने म अर्को जुनी त्यो कोख पर्ने छु
बाबा र आमा देशको सेवा सदैव गर्ने छु
!!
हे दाजु भाइ हे दिदी बैनी आत्मा त्यो शान्ति होस्
सबैको नाम चम्कियोस् सधै धरामा कान्ति होस्
भुल्दैनौ यस्तो दुखद दिन मनमा बस्ने छ
सम्झेर सबै स्वर्गीय जती आँसु झन् खस्ने छ
!!
हार्दिक श्रद्धा सुमन छ है स्वर्गीय जतिमा
नपरून् कोही हे दैव बिन्ती दु:खको घडीमा
यो सबै देख्दा मुटु नै मेरो थरर काम्दै छ
छ कि त अझै छोराको सास बाबाले छाम्दै छ
!!
No comments:
Post a Comment