कविता :- न म हनुमान न त शक्तिमान
- प्रकाश पाठक "योगी"
आँखा खोलेर
जब म विहानीको रविलाई
स्पर्श गर्छु तब
हरेक विहानी प्रहरमा
यौटै सोचमा घोत्लिन्छु...
साच्चै म "शक्तिमान"भए
यत्र-तत्र छरीएका,
चारै तिर बरालिएका,
अर्थहीन ब्यक्ती,
ठेगान लगाउथेँ
जसरी
अर्थहीन सामानलाई
मानिसहरूले मिल्काए झैँ
म पनि मिल्काउथें
र भन्थेँ
"कसिङ्गर बढी भएछ...
बाढीमा डुबेकाहरूलाई बचाई दिन्थेँ,
भोका नाङ्गाहरूलाई
गास र बासको बन्दोबस्त गरी दिन्थेँ,
भुकम्पले रूवाएकाहरूको
आँसु पुछि दिन्थेँ,
गाँउ- गाँउ पुगेर अवलोकन गर्थेँ
कहाँ को रोएको छ भनी,
परदेशमा "बिरे"रुन पर्थेन,
स्वदेशमा आमा रून पर्थेन,
देशमै कलकारखाना बनाई
सबै "बिरेहरूलाई" रोजगार दिन्थेँ,
महङ्गीले आकाश छुनै लाग्दा
महङ्गीलाई समातेर भुँईमा पछारी दिन्थेँ
साच्चै म शक्तिमान भए,
के के गरिदिन्थेँ
तर
बिडम्बना न म शक्तिमान,
न म बुद्धिमान,
न म हनुमान,
न म धनमान,
चाहेर पनि उठ्दैनन्
जमीनमा टाँसिएका चिसा पैतालाहरू
उठुन पनि कसरी...?
उठ्न र कदम बढाउन शक्तिमान हुनु पर्यो,
धनमान हुनु पर्यो,
हनुमान हुनु पर्यो,
न म हनुमान,
न त शक्तिमान....
No comments:
Post a Comment